भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेमजन थापाश्रेष्ठद्वारा भक्तपुर नगरपालिका वडा नं. ५, आदर्श बस स्टप नजिकै रहेको विद्या आर्जन स्कूलको निरीक्षण गरेका छन् । यसरी निरीक्षण गर्नुको उद्देश्य इसान आवद्ध विद्यालयहरूको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीहरूको विकासमा आपसी सहयोग गर्न र गराउन विद्यालय निरिक्षण गरेको बताइएको छ । निरीक्षणका क्रममा अध्यक्ष थापाले विद्यालयको प्रशासन, पुस्तकालय, प्रयोगशाला, खेल मैदान, कक्षाकोठा लगायतका विभिन्न पक्षहरूको अवलोकन गरी आवश्यक सुझाव पनि दिनुभएको थियो ।
थापाले विद्यार्थीहरूसँग कुराकानी गर्दै भाषा सिक्नका लागि व्याकरणमा मात्र ध्यान दिनु आवश्यक छैन । निरन्तर अभ्यास र संवादबाट सजिलै भाषा सिक्न सकिन्छ भन्ने विचार राखे । उनले विद्यार्थीहरूलाई प्रोत्साहन दिन पुरस्कार वितरण पनि गरे ।
विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछा र प्रि–स्कूल इन्चार्ज मणिकला राईले अध्यक्ष थापालाई फूलको गुच्छाबाट विद्यालयमा स्वागत गरेका थिए । विद्यालयले गरेको शैक्षिक प्रगतिलाई उनले सराहना गर्दै आवश्यक सहयोगको आश्वासन दिएका थिए ।
यसरी निरीक्षणबाट विद्यालयको शैक्षिक प्रगति र भौतिक सुविधाको अवस्था अनुगमन भएको छ । इसानले यस्ता निरीक्षणहरू मार्फत सदस्य विद्यालयहरूलाई गुणस्तरीय शिक्षा प्रवद्र्धनमा सहयोग गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।


