भक्तपुर, २७ चैत्र । हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूलको प्राङ्गणमा आज भव्य एवम् हर्षोल्लासपूर्ण कार्यक्रमका बीच किन्डरगार्टेन स्नातक समारोह सम्पन्न भएको छ । पूर्व प्रावि तहको अध्ययन पुरा गर्दै औपचारिक विद्यालय शिक्षामा प्रवेश गर्ने एसकेजीका विद्यार्थीहरू दिक्षित गर्न आयोजित सो समारोहमा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विद्यालयका प्रिन्सिपल श्री कृष्णराम त्वानबासुले सभापतित्व गरेको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका साबिक १५ नं. वडाका पूर्व वडाध्यक्ष श्री रविन्द्र खर्वुजा प्रमुख अतिथिका रूपमा रहेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका सुमित्रा ध्वँजुले गरेकी थिइन् ।

समारोहको शुभारम्भ विद्यार्थीहरूको मनमोहक स्वागत नृत्यबाट भएको थियो । प्रमुख अतिथि श्री खर्वुजाले साना विद्यार्थीहरूलाई शैक्षिक यात्राको पहिलो पाइला सफलतापूर्वक पूरा गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै भने, “यी बालबालिकाहरू नै हाम्रो समाजको भविष्य हुन्, उहाँहरूको उत्साह अविस्मरणीय छ ।”
प्रिन्सिपल त्वानबासुले आफ्नो मन्तव्यमा विद्यार्थी, शिक्षक र अभिभावक सबैको सहकार्यले नै यो सफलता सम्भव भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमले बालबालिकाको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरे ।
प्रि–प्राइमरी इन्चार्ज कमल खर्वुजाले बालबालिकाको सर्वाङ्गीण विकासमा किन्डरगार्टेन शिक्षाको भूमिका महत्त्वपूर्ण रहेको बताइन् भने शिक्षक श्यामसुन्दर मातांले नियमित कक्षाकोठाको गतिविधिले बालबालिकामा देखिएको परिवर्तनलाई रेखांकित गरे। अभिभावक प्रतिनिधि विमला मगरले विद्यालयले प्रदान गरेको बालमैत्री वातावरण र शिक्षकको मिहिनेतको प्रशंसा गर्दै सबै अभिभावकको भावना व्यक्त गरिन् ।
कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूको प्रस्तुति रह्यो । प्लेग्रुप, नर्सरी, एलकेजी र एसकेजीका विद्यार्थीहरूले एकभन्दा अर्को मनमोहक नृत्य तथा गीत प्रस्तुत गरे । स–साना नानीहरूले आ–आफ्नो कलाकारीबाट अभिभावक तथा शिक्षकहरूको मन जितेका थिए । सबैभन्दा रोमाञ्चक क्षणमा, क्याप र गाउन लगाएका बालबालिकाहरूले मञ्चमा आएर दिक्षित भएको प्रमाणपत्र प्राप्त गर्दा अभिभावकहरूले ताली र उत्साहले कार्यक्रम अझ मनमोहक भएको थियो ।
राष्ट्रिय गानबाट सुरु भएको यो समारोहले हिमालयन ग्लोरी इङ्लिस सेकेण्डरी स्कूललाई बालमैत्री शिक्षाको केन्द्रको रूपमा पुनः स्थापित गरेको छ ।

