भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान)ले विद्यार्थी, शिक्षक तथा कर्मचारी सम्मान कार्यक्रम गरेको छ । संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा इसान आवद्ध विद्यालयहरुबाट एसईई २०८० मा विद्यालयगत उत्कृष्ट विद्यार्थी, १५ वर्षभन्दा बढी निरन्तर सेवारत विद्यालय व्यवस्थापन समिति अध्यक्ष/व्यवस्थापक तथा शिक्षक एवम् कर्मचारी सम्मान गरेको हो ।
उक्त कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वपरष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ समाज निर्माणको निम्ति योग्य शिक्षक तयार भए देश नै अघि बढ्ने विचार व्यक्त गर्नुभयो । देश र जनता भुलेर पैसामुखी राजनीतिले देश गलत बाटोमा गइरहेको उल्लेख गर्दै उहाँले शिक्षकहरु अझ जिम्मेवार भएर सही राजनीति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । देशको सेवाभन्दा मौका पाए भ्रष्टाचार गर्न नपर्ने सत्तासीन दलका नेता र मन्त्रीहरु भ्रष्टाचार र अनियमितितामा फसिरहेको उल्लेख गर्दै उहाँले भागबन्डा, पैसा र लोभलालचमा फसेको कारण देशको विकास नभएको बताउनुभयो ।
वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईँले निजी शिक्षा र शिक्षकप्रति सरकार उदासीन रहेको बताउँदै सरकारको मात्र मुख ताकेर बस्नु अनुकूल नहुने जनाए । शिक्षकहरुको योगदानको कदर गर्नु सान्दर्भिक भएको उल्लृख गर्दै उहाँले सरकारको गलत शिक्षा निनीले गर्दा देशको शैक्षिक स्तर नउठेको बताउनुभयो ।
कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले शिक्षा सुधारका लागि एक पक्षको मात्र नभई शिक्षासँग सम्बन्धित सबै पक्षको योगदान रहने उल्लेख गर्दै ती पक्षलाई उत्साहित गर्नका लागि सम्मान गरिएको बताए । थापाले देशभर शिक्षाको स्तर उठाउन राज्यले भेदभाव गर्न नहुनेमा जोड दिनुभयो ।
इसानका सल्लाहकार सरोजराज गोसाईँले शिक्षकलाई उत्साहित गर्नका लागि विभिन्न तालिम, गोष्ठीका साथ पुस्तक अध्ययन र अनुसन्धान अनिवार्य भएकोमा जोड दिए । इसानका केन्द्रीय उपाध्यक्ष उकेश कवांले शिक्षाको अवस्था डामाडोल हुनुमा शिक्षकको मात्र नभई शिक्षा मन्त्रालयको नीति गलत रहेको उल्लेख गरे । बुद्धिजीवी र प्राज्ञहरुको उपस्थितिमा पुसतक अध्ययन गरी अन्तरक्रिया गरिरहनुपर्ने आवश्यकता औँल्याउदै उहाँले शिक्षकहरुले राजनीतिक, सामाजिक जिम्मेवारी पनि बहन गर्नुपर्नेमा जोड दिनुभयो ।
इसान जिल्ला समिति भक्तपुरका अध्यक्ष कृष्णराम त्वानाबासूले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै शिक्षा राज्यको दायित्व हो, सीपमूलक र संस्कारयुक्त शिक्षा आजको आवश्यकता हो भन्नुभयो । कार्यक्रममा २२ विद्यार्थी, शिक्षक र कर्मचारी ५८ गरि कूल ८० जनालाई सम्मान गरिएको जानकारी अध्यक्ष त्वानाबासू दिए । उक्त कार्यक्रममा इसानमा सदस्यता लिएका दुई नयाँ विद्यालयहरुलाई सदस्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।