भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरुले विद्यार्थीहरुलाई इमानदार, नैतिकवान र देशभक्त बन्न उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।
संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा भएको विद्यालय शिक्षकहरुको कार्यशाला गोष्ठीको प्रमुख अतिथि प्रजापतिले विद्यालय तह उच्च शिक्षाको जग भएको हुँदा हरेक विद्यार्थीहरुलाई देश र समाजको सेवा गर्ने भावनाले काम गर्न सिकाउनुपर्ने बताउनुभयो ।
भक्तपुरको शैक्षिक विकासमा संस्थागत विद्यालय संघ (इसान) को महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले राम्रा राम्रा विद्यार्थीहरु उत्पादन गर्न शिक्षकहरु स्वयम् राम्रो हुनुपर्छ भन्नुभयो ।
समयअनुसारको ज्ञान र प्रविधिबाट आफूलाई शिक्षित गर्न सकिएन भने शिक्षकहरु आ आफ्नो रोजगारीबाट विस्थापित हुनुपर्ने अवस्था आउन सक्छ, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयबीच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धात्मक भावनाले काम गर्ने प्रयास गरिरहेको बताउँदै नगर प्रमुख प्रजापतिले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा उपलब्ध गराउन नसकेसम्म संस्थागत विद्यालयहरुको महत्व नघट्ने बताउनुभयो ।
विद्यालय, कलेज र विश्वविद्यालयहरु ज्ञान प्राप्त गर्ने महत्वपूर्ण थलो हुनुपर्नेमा राजनैतिक भागबण्डाले बन्द, हड्ताल र तालाबन्दीको केन्द्र भइरहेको छ । विद्यार्थीहरुमा नेपालका कलेजहरुप्रति विश्वास नभएर विदेशतिर गइरहेका छन्, उहाँले भन्नुभयो ।
इसानका अध्यक्ष प्रेमजन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव पुरुषोत्तम ग्वाछाले कार्यशाला गोष्ठीको उद्देश्यमाथि प्रकाशन पार्नुभएको थियो ।