केही दिनअघि ६६ वर्षका एक परिचितको अस्पतालको सघन कक्षमा उपचार गर्दागर्दै मृत्यु भयो । उनको दुवै मृगौलाले काम गर्न छोडेको थियो । बिस्तारै–बिस्तारै फोक्सोमा पानी जम्यो । हातखुट्टा सुन्निएर आए । शरीरका अन्य अङ्ग–प्रत्यङ्गले काम गर्न छाडे । डायलासिस गरेर उनको जीवन केही दिन चल्यो तर धेरै दिन चल्न सकेन ।
उनलाई मधुमेहको समस्या भएको १० वर्ष भइसकेको थियो । उनी औषधि खाँदै थिए । तर कुनै पनि बेला मुख बार्दैनथे । ‘मर्नै पर्ने हो एक दिन, किन भोको पेट बस्ने ? म त मुख बार्दिन, आनन्दसँग खान्छु, बरु खाएरै मर्छु’, उनी भन्थे । उनलाई मुटुमा पनि समस्या परेको एक वर्ष भइसकेको थियो । उनको मधुमेहको समस्या औषधि खाएर पनि ठीक भएको थिएन । जसो पर्ला–पर्ला, खाना त छोड्दिनँ भन्ने उनको विचार र व्यवहारले उनलाई समयअगावै मृत्युको मुखमा पु¥यायो ।
५६ वर्ष हुँदा मधुमेह भएकाले मुख नबार्दा ६६ वर्षमा नै उनी बिते । सरकारी कर्मचारी भएकोले उपचारमा केही सहुलियत थियो । तर ‘अब यो उमेर भइसक्यो किन मुख बार्नु ?’ भनेर लत्तो छोडेपछि उनको मृत्यु असामयिक रूपमा नै भयो ।
डाक्टरले उपचारका लागि परामर्श र सल्लाह दिने हो । समय–समयमा औषधिले फाइदा पु¥याएको वा नपु¥याएको हेरेर औषधि परिवर्तन गर्ने हो । तर आफैंले आफ्नो स्वास्थ्यको वास्ता नगरेपछि त उपचारले मात्र के हुन्छ र ? त्यसैले ज्येष्ठ नागरिकहरूले आफ्नो स्वास्थ्यकर्मी र परिवारको सल्लाह लिएर अनि आफैंलाई पनि अनुशासनमा राखेर स्वस्थ जीवन बिताउन कोशिश गर्नुपर्छ ।