हिमालयन ग्लोरी इङ्गलिश स्कूलले आफ्नो विद्यालय स्थापना दिवसको अवसरमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले तयार पारेका परियोजना कार्यहरूको भव्य प्रदर्शनी आयोजना गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अध्ययनमा आधारित विभिन्न विषयहरुको परियोजनाहरू प्रस्तुत गरिएको थियो ।
प्रदर्शनीमा स्थानीय ख्वप पहिचान, गणित, विज्ञान, नेपाली तथा अंग्रेजी भाषा, सामाजिक अध्ययन, स्वास्थ्य तथा वातावरण र आर्ट एण्ड क्राफ्ट लगायतका विषयमा तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले खेर गएका वस्तुहरूको प्रयोग गरी कलात्मक सामग्रीहरू बनाएर आफ्नो सिर्जनात्मकता प्रस्तुत गरेका थिए । विषयगत परियोजना प्रदर्शनी बाहेक उक्त कार्यक्रममा विपद् जोखिम न्यूनकिरण सम्बन्धी शैक्षिक खेलहरुको प्रदर्शनी गरिएका थियो । प्रदर्शनीमा स्काउट गतिविधि अन्तर्गत भएका Tristle Bridge, Tyre Wall, Sun Blindness, Put the Bindi, Target point तथा Pillow Fighting जस्ता आकर्षक प्रस्तुतिहरूले सबैको ध्यान खिचेको थियो ।
विद्यालयका प्रिन्सिपल कृष्ण राम त्वानाबासूले यस्ता परियोजना कार्यहरूले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान बढ्ने, स्वअध्ययनको बानी विकास हुने, सहकार्यको भावना सिक्नुका साथै विद्यार्थीहरूमा आत्मविश्वास पनि बढ्ने बताए । “हामीले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान पनि दिन चाहन्छौं । यस्ता प्रदर्शनीले उनीहरूको सिर्जनात्मक क्षमतालाई उजागर गर्न मद्दत गर्छ,” उनले भने ।
प्रदर्शनीमा ९४ जना विद्यार्थीले परियोजना प्रस्तुत गरेका थिए भने २६ जना विद्यार्थी स्वयंसेवकका रूपमा खटिएका थिए । विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरु बाहेक सूर्यदीप इङ्गलिश सेकेण्डरी स्कूल, विद्या आर्जन इङ्गलिश स्कूल, जागृति माद्यामिक विद्यालय ज्ञान विजय आधारभूत बिद्यालयका विद्यार्थी तथा शिक्षकहरुले पनि सो प्रदर्शनीको अवलोकन गरेका थिए ।
प्रदर्शनीले विद्यार्थीहरूमा नयाँ उत्साह र सिर्जनात्मकताको भावना जगाएको थियो । विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।






























