२५ चैत, सोमबार । सूर्यविनायक नगरपालिका सल्लाघारी कटुन्जे अवस्थित ह्यापी किड्स मन्टेश्वरीको एस.के.जी.मा अध्ययनरत विद्यार्थीहरुको आज दिक्षान्त समारोह सम्पन्न भयो । पूर्व प्रा.वि. तह उत्तीर्ण भएको अवसरमा १३ जना विद्यार्थीहरुलाई आज एक समारोहबीच दिक्षित गरियो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थागत विद्यालय संघ नेपाल (इसान)का भक्तपुर जिल्ला अध्यक्ष तथा हिमालयन ग्लोरी इङ्गलिश स्कूलका प्रिन्सिपल श्री कृष्णराम त्वानाबासूले हरेक विद्यार्थीले फरक तरिका र फरक समयमा सिक्ने हुँदा सोको बारेमा सचेत रहेर आ–आफ्ना नानीहरुको पढाई तथा सिकाइको वातावरण बनाउनु पर्ने बताउनुभयो । स–साना नानीहरुलाई ज्ञानी तथा असल बनाउने बहानामा कडा अनुशासनमा राख्ने, डर धम्की लगायत मानसिक तनाव दिनु अभिभावकहरुमा भएको अचेतना नै हो भन्दै हरके अभिभावकहरुले पनि समय सुहाउँदो तालिम तथा अभिभावक शिक्षा ग्रहण गर्नुपर्ने बताउनुभयो ।



कार्यक्रमका अर्का अतिथि अमरज्योति मन्टेश्वरीका प्रिन्सिपल किरण गोसाईले अभिभावक तथा शिक्षकहरुले आफ्नो अनुकुलता एवं सहजतालाई मात्र ध्यान दिइयो भने विद्यार्थीहरुको भविष्य राम्रो नहुने बताउँदै स–साना नानीहरुलाई समय सुहाउँदो गतिविधिहरुमा निर्वाध सहभागी गराउनु पर्छ भन्नुभयो ।
कार्यक्रममा प्लेग्रुपदेखि एस.के.जी.सम्मका ५४ जना विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । विद्यालयमा भएको अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलमा विजयी ३३ जना विद्यार्थीहरुलाई मेडर तथा प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रममा ४९ जना विद्यार्थीहरुलाई विभिन्न अवार्डहरु वितरण गरिएको थियो ।


ह्यापी किड्स मन्टेश्वरीका प्रिन्सिपल जोशन मचामसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथि गीताञ्जली श्रेष्ठ तथा विद्यालयकी इन्चार्ज मेलिना बस्नेतले पनि बोल्नुभएको थियो ।
