देशभक्त, योग्य र नैतिकवान नागरिक तयार गर्न जोड

भक्तपुर, २७ असार । बाल विकास सेकेन्डरी स्कूलबाट एसईई २०७९ पूरा गरेका विद्यार्थीलाई बुधबार बधाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ पुस्ताले भूगोल र इतिहासको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । देशका राजनीतिज्ञ तथा शिक्षक, प्राध्यापकहरूमा भूगोल र इतिहासको बारेमा सामान्य ज्ञानसमेत नभएको हुँदा देशको अहित भएको उहाँले बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सिकाइ निरन्तर चलिरहने प्रक्रिया भएकोले विद्यार्थी तथा शिक्षकहरू अध्ययनशील बन्नुपर्ने बताउनुभयो । नयाँ पुस्तामा देखिएको विदेश मोहले परिवार र नातासम्बन्ध तोडिँदै गएकोले यसलाई रोक्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । समाजका टाठाबाठा र जालीफटाहाहरूले देश लुट्नका लागि नयाँ पुस्तालाई राजनीतिबाट टाढा राख्ने दुस्प्रयास गरिरहेको बताउँदै उहाँले यसतर्फ सचेत भएर योग्य नयाँ पुस्ता राजनीतिमा लागेर देशको सेवा गर्नुपर्ने धारणा राख्नुभयो ।देशलाई माया नगर्नेलाई कसैले पनि माया नगर्ने भएकोले देशलाई माया गर्ने असल नागरिक बन्न विद्यार्थीलाई उहाँले सल्लाह दिनुभयो ।
वाग्मती प्रदेशसभाका अर्का सदस्य सृजना सैँजूले देशमा राम्रो अर्थशास्त्री तथा राजनीतिज्ञ नभएकोले देश झन्झन् पछाडि परेको प्रस्ट पार्दै राम्रा विद्यार्थीले यस्ता विषय अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण्को क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको बताउनुभयो । उहाँले अध्यक्ष रोहितको अवधारणाअनुसार भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन प्रयास गरिरहेको र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति तथा पाँच लाखसम्म शैक्षिक ऋण उपलब्ध गराउँदै आएको जानकारी राउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीलाई अरूको करकाप वा लहैलहैमा लागेरभन्दा आफ्नो रूचि र क्षमताअनुसारको विषय अध्ययन गर्न सल्लाह दिनुभयो । अरूलाई उज्यालो दिन आफैँ बल्नुपर्ने भएकोले आफू उदाहरणीय बन्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । नर्सिङ समाज नेपालका अध्यक्ष देविका दनेखूले नर्सिङ विषयको बारेमा विद्यार्थीलाई मार्गदर्शन दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरू सीतालक्ष्मी प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, मनिषा श्रेष्ठ, सृष्टि प्रधान तथा पूर्व विद्यार्थी तथा इन्जिनियर मोनिका ख्याजूले विद्यार्थीहरूलाई बधाई तथा मार्ग निर्देश गर्नुभएको थियो भने विद्यार्थीहरू जिया सैंजू र सस्मिका लिम्बुले पनि बोल्नुभएको थियो । कार्यक्रमपश्चात् विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top