१. नेपालमा ८० प्रतिशतभन्दा बढी जनतासँग इन्टरनेटको पहुँच भएको विभिन्न अध्ययनले देखाएको खबर पत्रपत्रिकामा भेटिन्छ । हामीले चाहेर नचाहेर व्यवहारिक रुपमा नेपालमा बालबालिका दैनिक २ घन्टा भन्दा बढी मोबाइल चलाउँछन् । बालबालिकामा यसको दुरुपयोग गलत भयो भन्ने सबैलाई लागेको छ- तर, रोक्न वा निषेध गर्न कसैले सकेको छैन । सकिन्न !
कानून बनाएर जेल नै हाल्छु भने पनि लुकेर चलाउँछन् ! GenZ र Alpha लाई सूचना प्रविधिबाट टाढा राख्न खोज्नु मुर्खता हो ।
२. तर, जब यसलाई सिकाइमा वा रचनात्मक प्रयोगका विषयमा काम गरौँ भनिन्छ, तब बिरोध हुन्छ । सबैलाई एकाएक बालबालिकाको रचनात्मक क्षमतामा ह्रास आउने, बालबालिका बिग्रिने डरले समातिहाल्छ । के अहिले हामीले कक्षाकोठामा जसरी सिकाइरहेका छौँ- त्यसले बालबालिकाको रचनात्मक क्षमतालाई प्रष्फुटन गरिरहेको छ ? रचनात्मकता भनेको गाउनु, नाच्नु, चित्र बनाउनु मात्र होइन- आलोचनात्मक चेतनाको विकास पनि हो । समालोचनात्मक दृष्टिकोणको निर्माण पनि हो । छातीमा हात राखेर भनौँ- के हामीले बालबालिकालाई सिकाइमा उत्सुक बनाउन सकेका छौँ ?
३. प्रविधि कहिल्यै पनि आफैँमा खराब हुँदैन । यसको प्रयोग गर्ने व्यक्तिमा भर पर्ने कुरा हो । औषधी पनि धेरै खायो भने विष बन्छ । खाना पनि धेरै खायो भने असर गर्छ । AI को कुरा पनि त्यही हो- बालबालिकालाई यसको सकारात्मक पाटो प्रयोग गर्न सिकाउने शिक्षकको दायित्व हो । दुरुपयोग रोकेर रचनात्मक सिकाइमा प्रयोग गर्न प्रेरित गर्ने दायित्व शिक्षकको नै हो ।
ख्याल गरौँ- हामीले सदुपयोग गर्न नसिकाए- दुरुपयोग गर्न कसैले सिकाउनै पर्दैन !
४. AI ले मानव सभ्यतालाई नै सङ्कटमा पार्दैछ, बालबालिकाको मष्तिष्क ध्वस्त बनाउँदैछ भनेर हामी ढुङ्गेयुगीन सोचमै बाँचिरहने हो भने AI ले चाहिँ होइन, यसको प्रयोग गर्नेले भोलि हामीलाई पछि पार्नेछन् । AI बनाएको मान्छेले नै हो । मानव मष्तिष्क जति सर्वश्रेष्ठ र क्षमतावान् वस्तु कुनै छैन- यो सत्य हो । तर, हाम्रो वर्तमान शिक्षा प्रणाली, परीक्षा मोडल, हाम्रा पाठ्यपुस्तक, कक्षाकोठामा हामीले अवलम्बन गरेको पेडागोजीले कहाँचाहिँ मानव मश्तिष्कको भरपूर प्रयोग गरेको देख्नु भएको छ ? नेपालमा हाम्रो शिक्षाले कति जना वैज्ञानिक जन्माएको छ ?
५. AI साध्य होइन, यो एक Tool हो । यसैमा सती जाने भनेर कसैले भनेको छैन । यो हाम्रो समयको बरदान हो । यसलाई रचनात्मक सिकाइमा प्रयोग गर्न सकिन्छ । Flipped Learning Model अबलम्बन गर्न सक्ने हो भने सिकाइमा AI को प्रयोग प्रभावकारी देखिन सक्दछ ।
६. Flipped Learning भनेको अहिले हामीले जे गरिरहेका छौँ, त्यसलाई उल्ट्याउनु हो । अर्थात्, अहिले हामी पहिले पाठ पढाउँछौँ अनि गृहकार्य दिन्छौँ । तर, Flipped Learning Model मा भोलि पढ्ने पाठका विषयमा पूर्व अध्ययन गरेर वा खोजेर ल्याउन अघिल्लो दिन नै विद्यार्थीलाई homework दिइन्छ । Flipped Learning का सिद्धान्तकारले AI नआएको अवस्थामा Recorded Video अघिल्लो दिन नै विद्यार्थीलाई पठाउने कुरा गरेका थिए। तर, अहिले AI आएको सन्दर्भमा अझ सहज भएको छ ।
जस्तै:
क. नेपालीको शिक्षकले कक्षा ७ का विद्यार्थीलाई “भानुभक्त आचार्य” का बारेमा पढाउनु पर्ने भयो । उहाँले अघिल्लो दिन नै भानुभक्त आचार्यका बारेमा बालबालिकामा उत्सुकता जगाउने केही रोचक कुरा बताएर भोलि उनैका बारेमा पढिने जानकारी दिनुभयो । गृहकार्यका रुपमा भानुभक्त आचार्यका बारेमा ईन्टरनेटमा भेटिएका सामाग्री खोजेर ल्याउन भन्नुभयो ।
ख. कक्षा ७ मै पढ्ने रोहित घरमा पुग्छन् । भोलि पढ्ने भनिएको भानुभक्त आचार्यका बारेमा गुगलमा केही कुरा खोज्छन् । युट्युवमा केही भिडियो हेर्छन् । AI लाई सोधेर भानुभक्त आचार्यका बारेमा केही कुरा नोट गर्छन् ।
ग. आयुषाको घरमा इन्टरनेट छैन । उनले हजुरबुवालाई सोधेर भानुभक्तका बारेमा केही नोट गर्छिन् । आमाले पनि आफूले सुनेको एउटा कबिता सुनाइदिनु हुन्छ । उनले टिपोट गर्छिन् ।
घ. रामुको घरमा कसैले पनि भानुभक्तका बारेमा सुन्नुभएको रहेनछ । मोबाइल पनि छैन । उनले पुस्तकमा भएको भानुभक्तको चित्र उतार्छन् ।
ङ. भोलिपल्ट शिक्षकले सबैलाई आफूले खोजेर ल्याएका सामाग्री प्रस्तुत गर्न लगाउनुहुन्छ । रोहितले छोटकरीमा भानुभक्त आचार्यको जीवनी र योगदान सुनाउँछन् । आयुषाले कविता सुनाउँछिन् । रामुले भानुभक्त आचार्यको बारेमा चित्र प्रदर्शन गर्दछन् । ३० जना मध्ये २० जनाले इन्टरनेटमा खोजेर ल्याएछन् । दुई जनाले केही नै गरेनछन् । बाँकीले कतैबाट सोधेर खोजेर ल्याएछन् ।
च. सबैले आफ्नो प्रस्तुति सकेपछि शिक्षकले विद्यार्थीको समूह विभाजन गर्नुभयो । केही नगर्ने दुई जनालाई रोहितसँगै राखिदिनुभयो । यसैगरी अन्य विद्यार्थीलाई पनि सोही अनुसार राखिदिनुभयो र छलफल गर्न लगाउनुभयो । शिक्षकसँग भन्दा साथीसँग छलफल गरेर बालबालिकाले धेरै सिक्न सक्दा रहेछन् ।
समूह कार्य मात्र नभएर शिक्षकले सुनाइ, बोलाइ, पढाइ, लेखाइका अन्य सीप विकासका गतिविधि पनि गर्न लगाउनु भयो । कमजोर विद्यार्थीलाई अलि बढी समय दिन भ्याउनु भयो । बाँकी विद्यार्थी आफैँ सिकिरहेका थिए । एक अर्कालाई सिकाइकहेका थिए ।
छ. अर्को दिन बालबालिकाले भानुभक्त आचार्यबारे विशेष कार्यक्रम गरे कक्षाकोठाभित्रै । केही विद्यार्थी भानुभक्त जस्तै देखिने गरी नाटक बाचन गरिरहेका थिेए। केही बालबालिकाले कविता लेखेर ल्याएका थिए । केही बालबालिकाले भानुभक्तबारे मन्तव्य जारी गरिरहेका थिए । अनि केही चाहिँ त्यहाँ भएका गतिविधि टिपोट गरिरहेका थिेए । आयुषालाई चाहिँ उनको आमाले भानुभक्त आचार्यले लेख्नुभएको “बधु शिक्षा” को बारेमा बताउनुभएको रहेछ । उनलाई सार्है चित्त नबुझेर आलोचनात्मक रुपमा भानुभक्तको उक्त पुस्तकमा लेखिएको विचारका बारेमा धारणा राखिरहेकी थिइन् !
७. अब हजुरहरुले बताइदिनु पर्यो- यसमा कहाँनेर बालबालिकाको Creativity ध्वस्त भयो ?? कुन उमेरबाट बालबालिकालाई AI Exposure दिने, त्यो बहसको विषय होला- तर, प्रविधिको प्रयोग नै गर्न नदिने भन्ने चिन्तन बोकेकाहरु चाहिँ NOT MADE FOR TEAHING PROFESSION !