भक्तपुर । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले सरकारले हालै गरेका शैक्षिक निर्णयहरूप्रति कडा आपत्ति जनाएको छ। मन्त्रिपरिषद्ले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने र हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेपछि इसानले यसको विरोध गरेको हो।
बिहीबार एक विज्ञप्ति जारी गर्दै इसानका महासचिव पुरुषोत्तम ग्वाछाले सरकारको यो कदमले शैक्षिक क्षेत्र झन् अस्तव्यस्त र अस्थिर हुने दाबी गर्नुभएको छ।
विज्ञप्तिका मुख्य माग र आपत्तिहरू:
- वैशाख पहिलो हप्ताबाटै सत्र सुरु हुनुपर्ने: शिक्षा ऐन अनुसार वैशाख २ गतेदेखि नै शैक्षिक सत्र सुरु हुँदै आएकोमा सरकारले १५ गते पुर्याउँदा अन्योल बढेको इसानको ठहर छ। क्यालेन्डर बनिसकेको अवस्थामा तयारीका नाममा लामो बिदा आवश्यक नभएको विज्ञप्तिमा उल्लेख छ।
- दुई दिने बिदा व्यवहारिक नभएको: हप्तामा दुई दिन बिदा दिँदा पाठ्यक्रमको उद्देश्य पुरा गर्न समय अपुग हुने र यसले विद्यार्थीको सिकाइ विकासमा बाधा पुग्ने बताइएको छ। अभिभावकहरूबाट पनि यसबारे व्यापक गुनासो आएको इसानले जनाएको छ।
- स्थानीय तहको अधिकारमा हस्तक्षेप: विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहको भएको अवस्थामा केन्द्रबाट निर्देशन दिनु संविधान विपरीत र विरोधाभासपूर्ण रहेको इसानको तर्क छ।
- परीक्षा र गुणस्तर: कक्षा ५ सम्मको परीक्षा नै नलिने वा खुकुलो बनाउने कुराले विद्यार्थीको जग कमजोर हुने भन्दै परीक्षा प्रणालीलाई व्यवस्थित बनाउन माग गरिएको छ।
- पूर्वाधार र सुविधा: सरकारले विद्यालयहरूमा विज्ञान, गणित र कम्प्युटर प्रयोगशाला बनाउनुपर्ने तथा विद्यार्थीका लागि चिडियाघर, सङ्ग्रहालय र पार्कहरूमा निःशुल्क प्रवेशको व्यवस्था गर्नुपर्ने माग समेत गरिएको छ।
विज्ञप्तिमार्फत इसानले मौसमको अनुकूलतालाई ध्यान दिँदै वैशाख पहिलो हप्तामै पठनपाठन सुरु गर्न र शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्दा सरोकारवालासँग छलफल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
साथै इसान भक्तपुर जिल्ला अध्यक्ष कृष्ण राम त्वानाबासूले जिल्ला भरिका सदस्य विद्यालयहरुलाई बैशाख ६ गते आइतबारदेखि नै विद्यार्थीहरुलाई विद्यालय बोलाएर नयाँ शैक्षिक सत्रको लागि तयारी कक्षाहरु संचालन गर्नगराउन अनुरोध समेत गर्नुभयो ।

